अ-
अ+
डाउनलोड एप
Back
सार्वजनिक लेखा समिति

परिचय

सार्वजनिक लेखा समिति प्रदेश सभाको एक महत्वपूर्ण समिति हो । यसले सरकारका आर्थिक गतिविधिहरुको निगरानी गरी आर्थिक सुशासन कायम गराउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सरकारको नीति निर्माण तहदेखि तिनको कार्यान्वयनको चरण र कार्यसम्पन्न भए पश्‍चात खर्चको यथार्थ अवस्थाको निगरानी गरी सार्वजनिक काम कारबाहीमा पार्दर्शिता, मितव्ययीता, जवाफदेहिता, औचित्यता र प्रभावकारिता कायम गराउने गर्दछ । सरकारका गतिविधिहरुको प्रत्यक्ष निगरानी गरी अख्तियारको दुरुपयोग हुन नदिई त्यसलाई नियन्त्रण गर्न आवश्यक निर्देशन दिने हुँदा यस समितिको सभापतिमा प्रतिपक्ष दलबाट चयन गर्ने प्रचलन रहँदै आएको छ ।

 

सार्वजनिक लेखा समितिको इतिहास हेर्ने हो भने यसको गठन बेलायतको संसदबाट सन् 1861 मा भएको पाइन्छ । उक्त समिति गैरराजनीतिक रुपमा काम गर्ने अपेक्षाका साथ राज्यकोषको खर्च संसदले चाहे बमोजिम होस् भनी त्यसको सुनिश्‍चितता गर्नु र सरकारी कोषको प्रभावकारी र मितव्ययीतापूर्वक खर्च भए नभएको जाँच पड्ताल गर्ने उद्देश्यका साथ भएको थियो । नेपालमा सार्वजनिक लेखा समितिको शुरुवात वि.सं. 2016 साल देखि नै भएको पाइन्छ । नेपाल अधिराज्यको संविधान, 2047 ले सार्वजनिक लेखा समितिलाई संवैधानिक व्यवस्था गरेको थियो भने हाल प्रदेश सभाको कार्यप्रणालीलार्इ व्यवस्थित गर्न सहयोग पुर्‍याउने उद्देश्यले नेपालको संविधानको धारा १९३ र सुदूरपश्‍चिम प्रदेशको प्रदेश सभा नियमावली, २०७४ को नियम १४५ बमोजिम विभिन्न समितिहरु गठन गर्न सकिने प्रावधान रहेको छ । सोही प्रावधान बमोजिम सुदूरपश्‍चिम प्रदेश सभाको प्रथम अधिवेशनको सातौँ बैठकबाट सार्वजनिक लेखा समितिको गठन भएको हो ।

 

प्रदेश सभाका अन्य विषयगत समितिहरु मध्ये सार्वजनिक लेखा समिति महत्वपूर्ण समिति भएकाले यस्ले प्रदेशमा वित्तीय सुशासन कायम गर्न, सार्वजनिक पदाधिकारीहरुलाई उत्तरदायी बनाउने, जवाफदेहिता प्रबर्द्धन गर्ने तथा महालेखापरीक्षकको वार्षिक प्रतिवेदन माथि अध्ययन तथा छलफल गरी बेरुजुलाई नियमित गराउने, असुल उपर गराउने, प्रमाणकागजात पेश नगरेको अवस्थामा प्रमाण पेश गर्न लगाउने तथा छानविन गर्नुपर्ने किसिमको बेरुजु माथि छानविन गरी कारबाहीका लागि सिफारिस गर्ने कार्य गर्दछ । सार्वजनिक लेखा समितिको गठन भए पश्‍चात पहिलो बैठक मिति २०७५ साल श्रावण १ गते बसेको थियो । सर्वप्रथम समितिमा मनोनयन भएका माननीय सदस्यज्यूहरुमध्ये ज्येष्ठ सदस्य माननीय बल बहादुर सोडारीज्यूको सभापतित्वमा प्रथम बैठक सम्पन्न भएको र उहाँको सभापतित्वमा १२ वटा बैठक संचालन भएका थिए । मिति २०७५ साल असोज २२ गते प्रदेश सभाका विषयगत समितिहरुको निर्वाचन आव्हान भए बमोजिम समितिको सभापतिमा माननीय कुमारी नन्दा वम निर्विरोध निर्वाचित हुनु भएको थियो ।

सभापति
मा. दिवान सिंह विष्ट
जेष्ठ सदस्य
पुरा हेर्नुहोस्
समिति सचिव
प्रेम कटेल
कम्प्युटर अधिकृत
पुरा हेर्नुहोस्


© 2026. प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, प्रदेश सभा सचिवालय. सर्वाधिकार सुरक्षित
Designed and Developed By: Mohrain